काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले बेलायत र भारतबाहेक अन्य देशको सेनामा भर्ती भएका नेपाली युवालाई फिर्ता ल्याउन माग गर्नुभएको छ ।
२०८० चैत २ गते शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
उहाँले रुस–युक्रेन युद्धमा कैयौँ नेपालीको मृत्यु भएको, कैयौँ घाइते भएको बताउँदै उहाँले उनीहरूलाई फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
मन्तव्यको क्रममा उहाँले रुस–युक्रेन युद्धमा वास्तवमा अमेरिका र रुसमाझको युद्ध भएको विश्लेषण गर्दै कुनै दिन अमेरिका र चीनमाझ युद्ध भएमा नेपाल युक्रेन बन्ने खतरा औल्याउनुभयो ।
यस्तो छ, मन्तव्यको पूर्ण पाठ :
अहिले जुन रुस र युक्रेनको युद्ध भनिएको छ, वास्तवमा अमेरिका र रुसको युद्ध हो त्यो । कुनै दिन अमेरिका र चीनबिच त्यस्तै युद्ध हुँदाखेरि नेपाल युक्रेन हुने खतरा छँदै छ ।
अहिले नेपाल सरकारको जानकारीमा के छ भने नेपाली युवकहरू भारत र बेलायतको सेनामा मात्रै छन् तर हामीलाई थाहा छ, अमेरिका, फ्रान्स र अन्य कतिपय देशमा नेपाली युवकलाई दलालहरूले लगेर भर्ती गरिराखेका छन् ।
अहिले रुसमा, युक्रेनमा नेपाली युवकहरू घाइते छन् । कैयौँको मृत्यु भएको छ । त्यस सम्बन्धमा सरकारले पहल गरेर उनीहरूलाई फिर्ता गर्नुपर्दछ । बेलायत र भारतबाहेक अरू कुन कुन देशमा नेपाली युवाहरू भर्ती भएका छन्, उनीहरूलाई नेपाल फिर्ता गर्नुपर्छ ।