काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी भएका छन्। सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।
राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।
उनीसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत खस्यो। उनलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलले समर्थन गरेका थिए।
राष्ट्रिय जनमोर्चा भने मतदान प्रक्रियामा सहभागी भएन। राष्ट्रिय सभामा राजमोका एक सांसद छन् ।
राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो।
माओवादीका केन्द्रीय सदस्य दाहाल २०७८ चैत २५ गते राष्ट्रिय सभामा रिक्त विज्ञ कोटाबाट राष्ट्रिय सभामा मनोनित भएका थिए।
अधिवक्ता रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि फागुन २० गतेदेखि रिक्त भएको पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई ६ वर्षका लागि नियुक्त गरेकी थिइन्।
यही फागुन २० गते तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्।