काठमाडौं । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा थिए ।
मन्त्रीलाई शपथ गराउँदै थिए सुदूरपश्चिम प्रदेश प्रमुख
सोमबार मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख हटाउने निर्णय गर्दा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी भने मन्त्रीलाई शपथ ग्रहण गराउँदै थिए ।
केन्द्रमा गठबन्धन परिवर्तन भएपछि सुदूरपश्चिममा अल्पमतमा परेका कांग्रेस मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री थपिरहेका छन् । सोमबार पनि शाहले नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा नियुक्त गरे।
शाहले मन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेश प्रमुख देवराज जोशीले चौधरीलाई सोमबार नै शपथ ग्रहण गराए।
तर प्रदेश प्रमुख जोशीले चौधरीलाई मन्त्रीको शपथ धनगढीमा खुवाउँदै गर्दा उता काठमाडौंमा उनलाई हटाउने निर्णय संघीय मन्त्रिपरिषद्ले गर्यो।
मन्त्रीलाई शपथ गराइसक्नेबित्तिकै जोशीलाई हटाउन राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पत्र पठाइएको औपचारिक जानकारी सुदूरपश्चिममा पुगेको छ।