काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य पीयारी थापाले निर्वाचन क्षेत्र विकास कोषलाई रुपान्तरण गरी कोरोना ‘नियन्त्रण तथा उपचार कोष’ बनाउन माग गर्नुभएको छ ।
फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रिय जनमोर्चाका सांसद थापाले कोरोना उपचारका लागि सरकारले निर्माण गरेको कोषको उचित उपयोग गर्न तथा तत्कालका लागि निर्वाचन क्षेत्र विकास कोषलाई रुपान्तरण गरी कोरोना नियन्त्रण तथा उपचार कोषमा बदल्न र सो कोषको रकम पारदर्शी रुपमा खर्च गर्न सुझाव दिनु भएको छ ।
सांसद विकास कोष अन्तर्गत सांसदले आफै योजना छनोट गर्न पाउने गरी संघीय सांसदले ६ करोड रुपैयाँ पाउँछन् भने प्रदेश सांसदहरुले पनि एक देखि तीन करोड रुपैयाँसम्म आफूखुशी खर्च गर्न पाउँछन् ।
यसरी सातै प्रदेश र केन्द्रमा गरी सांसदहरुले खर्च गर्ने अरबौं रुपैयाँको सदुपयोग हुन नसकेको भन्दै चौतर्फी आलोचना हुने गरेको छ भने समानुपातिक सांसदहरुले समेत यसमा आफूहरुलाई विभेद गरेको गुनासो गर्दै आएका छन् ।
सांसद थापाले सांसद विकास कोषका नाममा भइरहेको दुरुपयोग रोकी कोरोना संक्रमणको रोकथाम तथा उपचारका लागि खर्च गर्नुपर्ने सुझाव दिनुभएको छ ।
बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने थापाले दुई जना कोरोना संक्रमित देखिएको बागलुङमा राहत वितरण तथा कोरोना परीक्षणमा भइरहेको ढिलासुस्ती प्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।
