काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा निर्वाचित रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिने बताएको छ । टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भइ राष्ट्रपतिबाट आम माफी पाएका रेशम पार्टी सदस्य हुन योग्य नभएको आयोगको ठहर छ ।
आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ।
पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि रेशम चौधरीले केन्द्रीय समिति अद्यावधिक गराउन माघ २९ मा आयोगमा पत्र पठाएका थिए।
तर, आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको प्रष्ट पारेको छ।
‘विधान संशोधनको अभिलेख अद्यावधिक गर्न मिलेन,’ बिहीबार गरेको आयोगको निर्णयमा उल्लेख छ, ‘राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम ९६० बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेकाले ऐ। नियमावलीको नियम २५ को उपनियम ९६० बमोजिम सोको जानकारी सम्बन्धित दललाई गराउने ।’
यस्तै आयोगले अयोग्य व्यक्तिलाई योग्य भन्दै महाधिवेशन गराएको भन्दै सचेत गराएको छ।
आयोगको निर्णयसँगै रञ्जीता श्रेष्ठ नागरिक उन्मुक्तिकी अध्यक्ष कायम रहन छिन।
रेशम कैलालीको टीकापुरमा ७ प्रहरीसहित एक नाबालकको हत्याका योजनाकार भएको ठहरसहित जन्मकैद सजाय तोकिएर केही वर्ष जेलमा बसेका थिए। उनलाई राष्ट्रपतिले आममाफी दिएका थिए।
मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् ।
२०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमको बाँकी कैद मिनाह भएको हो।