काठमाडौँ । बुधबार बिहान धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीनैजना यात्रुको शव फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले बिहीबार दुई पुरुष र एक महिलाको शव फेला पारी नदीबाट बाहिर निकालेको हो ।
पछिल्लो पटक बिहीबार अपरान्ह ३:४३ बजे अन्दाजी वर्ष ५० को पुरुषको शव फेला परेको छ भने आजै दुर्घटनास्थलभन्दा १५० मिटर तल अर्का पुरुष र नदीभित्र महिलाको शव भेटिएको थियो ।
सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको कमान्डमा खटिएको टोलीले फेला पारेको एपीएफले जनाएको छ।
यो सँगै त्रिशुलीमा बेपत्ता तैनैजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक रहेकोमा दुई पुरुष र एक महिलाको शव फेला परेपनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए।
तीन यात्रु भने नदीमै हराइरहेका थिए ।