काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दबाब आएका कारण सरकारको समीकरण बदलिएको टिप्पणी गर्नुभएको छ ।
२०८० फागुन २४ गते बिहीबार राष्ट्रियसभा बैठकमा नवनिर्वाचत सांसदहरूलाई बधाई दिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘हिजो जुन परिस्थितिमा गठबन्धन बनेको थियो’ उहाँले भन्नुभयो– ‘आज रातारात कुन प्रकारको दबाब आयो हाम्रा प्रधानमन्त्रीमाथि, जसलाई उहाँले थेग्न सक्नुभएन र सरकार बदलियो । यसमा हामीलाई आश्चर्य लागेको छ ।’
सांसद विश्वकर्माले वर्तमान सरकारप्रति राष्ट्रिय जनमोर्चाको समर्थन नरहेको जानकारी दिनुभयो ।
‘हाम्रो पार्टी यो गठबन्धन बन्नु गलत भयो भन्ने पक्षमा छ’ उहाँले भन्नुभयो– ‘त्यसैले हाम्रो पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।’
सम्बोधनको क्रममा सांसद विश्वकर्माले मन्त्रिमण्डल विस्तार गर्ने गर्ने क्रममा अदालतमा मुद्दा विचाराधीन भएका व्यक्तिलाई गृहमन्त्रालय दिइएकोमा आपत्ति प्रकट गर्नुभयो ।
‘मन्त्रिमण्डल विस्तार गर्ने क्रममा जुन व्यक्तिमाथि अदालतमा मुद्दा चलिरहेको छ, त्यो मुद्दाको किनारा लागेको छैन; जस्तै : नागरिकताको सवाल दोहोरो पासपोर्टको सवाल, सहकारीमा घोटाला भएका मुद्दा जीवित छन्’ उहाँले भन्नुभयो– ‘त्यही व्यक्तिलाई गृहमन्त्रालय सुम्पिने काम भएको छ । यसलाई हामीले स्वाभाविक रूपमा स्वीकार्न सक्दैनौँ ।’
उहाँले अगाडि भन्नुभयो– ‘यस कुरामा हाम्रो पार्टीले आपत्ति प्रकट गर्दछ ।’
सम्बोधनको प्रारम्भमा उहाँले निर्वाचित सांसदहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।