खलङ्गा । प्युठानमा एक सय चौधौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।
अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसीको प्रमुख आतिथ्यमा झिमरुक गाउँपालिकाको वडा नं. ८ मा २०८० फागुन २२ गते मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसीले महिलालाई आज सामान्य लाग्ने हकअधिकार प्राप्त गर्नसमेत ठुला ठुला सङ्घर्ष गर्नुपरेको इतिहास हामीले बिर्सन नहुने बताउनुभयो ।
‘समान कामको समान ज्याला, महिला स्वतन्त्रतादेखि लिएर मताधिकारको लागि समेत विश्वका श्रमिक महिलाले गरेको बलिदानीपूर्ण सङ्घर्षको कारण नै हामीले केही हदसम्म भए पनि हकप्राप्ति र स्वतन्त्रताको अनुभूति गर्न पाएका छौँ’ उहाँले भन्नुभयो– ‘हामीले जे जति पाएका छौँ, त्यो सित्तैमा कसैले दयामायाले दिएको होइन, त्यो सबै अन्तर्राष्ट्रिय स्तरमा महिलाहरूले गरेको सङ्घर्षको परिणाम हो ।’
कार्यक्रममा महिला सङ्घकी झिमरुक पालिका सल्लाहकार बिना खत्री, वडासमितिकी गङ्गा बस्नेत, ज्ञानुमाया बस्नेत, अमृता केसी, खिमा बस्नेत, पार्वता बस्नेत, वशन्त थापाले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन कमला थापाले, स्वागत सोनी परियार र अध्यक्षता वडासमितिकी अध्यक्ष तथा कार्यपालिका सदस्य सङ्गिता परियारले गर्नुभएको थियोे ।
महिला सङ्घ केन्द्रीय समितिको निर्णयअनुसार स्थानीय स्तरमा सभा, जुलुस, अन्तरक्रियालगायत कार्यक्रमसहित श्रमिक महिला दिवस रचनात्मक रूपमा मनाउने निर्णय भएको बताइएको छ ।