सोल । उत्तर कोरियाले यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठुलो मात्राको सैन्याभ्यासले महङ्गो मूल्य तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई उत्तेजित युद्धाभ्यास बन्द गर्न मार्च ३, २०२४ का दिन आग्रह गरेको छ ।
यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो प्रमुख शत्रु घोषणा गरेको छ । साथै पुनर्मिलन तथा पहुँचका लागि समर्पित एजेन्सीलाई अलग गरेको छ र शून्य दशमलव ००१ मिलिमिटरसम्म पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ ।
वासिङटन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वशन्त सैन्याभ्यास सुरु गरेको बताएका छन् ।
दुवैले फ्रिडम सिल्डमा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बमविस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् ।
उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात प्रवक्ताले सोल र वासिङ्टनलाई लापरबाहीपूर्ण र उत्तेजित युद्धाभ्यास बन्द गर्न आग्रह गर्नुभयो ।
‘प्योङयाङको सेनाले अमेरिका र दक्षिण कोरियाको लापरबाहीपूर्ण सैन्याभ्यासको कडा निन्दा गर्दछ र उत्तेजना र अस्थिरता निम्त्याउने कदम रोक्न उनीहरूलाई कडा चेतावनी दिन्छ’ प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीद्वारा जारी विज्ञप्तिमा प्रवक्ताले भन्नुभयो ।
‘अमेरिका र दक्षिण कोरियाले आफ्नो भ्रामक छनोटका लागि महँगो मूल्य तिर्नुपर्ने छ । यसले प्रत्येक क्षणमा गम्भीर स्तरमा उनीहरूको सुरक्षा असुविधालाई निम्त्याएको महसुस गर्दै छ’ प्रवक्ताले भन्नुभयो ।
उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ । उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ ।
यस्तै प्रकृतिको पछिल्लो संयुक्त सैन्याभ्यासमा हतियार परीक्षण गरिएको थियो । सोलले आफ्नो सेना उत्तर कोरियाको उक्साहटको सामना गर्न लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ ।
‘उत्तर कोरियाले हाम्रो संयुक्त सैन्याभ्यासको बहानामा उक्साउने कुरा गर्छ भने हामी तत्काल सुदृढ र अन्तिम कारबाहीको सिद्धान्तअनुसार ठुलो जवाफ दिने छौँ’ दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई उत्तर कोरियाको सबैभन्दा खतरनाक र पहिलो शत्रु राज्य तथा कट्टर शत्रु भन्दै गत महिना आक्रमण भएको अवस्थामा प्योङयाङ दक्षिण कोरियाको अस्तित्व मेट्न नहिचकिचाउने बताउनुभएको थियो । (रासस/एएफपी)





