काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको सुसाइड नोट फेला परेका छन् ।
उक्त सुसाइड नोटमा ‘सरी एभ्रिबडी, सरी ड्याडि ममी’ लेखिएको छ ।
तर त्यो सुसाइड नोट उनको भए नभएको यकीन गर्न प्रहरीले फरेन्सिक ल्याबमा पठाएको जनाएको छ ।
प्रहरीले घटनास्थलमा त्यसै दिन सो सुसाइड नोट फेला पारेको हो ।
फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया शलिना झुण्डिएको अवस्थामा होस्टलमा फेला परेकी थिइन्। सोही दिनबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको पीडित पक्षको दाबी छ।
झुण्डिएको अवस्थामा फेला परे पनि उनको हत्या भएको आफन्तको दाबी छ। उनीहरुले हत्याकै आरोपमा जाहेरी पनि दिएका छन्।
उनीहरुको जाहेरीपछि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन्।
उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हाल शलिनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।
आफन्तले भने उनको हत्या भएको भन्दै घटनाको अनुसन्धान गर्न प्रहरीमाथि दबाब बढाइरहेका छन्।
शालिनका बुवा दीपेन्द्र पोखरेलले उनको हत्याको निशाना मेट्ने प्रयास विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिबाटै भएको दाबी गरेका छन्।
छोरी शालिनले आत्माहत्या गरेको भन्दै प्रहरीले आफूलाई फोन गरेको पनि उनले बताए।
उनले भने, ‘उनको गालमा चिमोटेको जस्तो एउटा आलो घाउ थियो। अर्कोतर्फ अलिक खाटा बसेजस्तै दाग देखिन्थ्यो। त्यो हेर्दा पनि यो भन्दा पहिले याताना दिने गरेको र त्यो बेलामा पनि यातना दिएरै मारेको प्रष्ट हुन्छ।’
शालिनको भजाइनामा घाउ रहेको पाइएको डाक्टरले आफूलाई बताएको उनको भनाई छ । १४ वर्षीया बालिकाको भजाइनामा घाउ हुनुले बलात्कार नै भएको भन्ने शंका डाक्टरहरूले गरेको उनले बताएका छन्।
शालिनका आमाबुवाको केही वर्षअघि डिभोर्स भएको थियो। आमाबुवाको डिभोर्सपछि उनलाई दुवैले हेरचाह गर्दै आएका थिए।
शालिनको पढाईदेखि सबै खर्च दुवैले उठाउँदै आएका थिए। गोरखाको आजिरकोट(५ घर भएका शालिनको बुवा काठमाडौं बस्छन्। आमा भने वैदेशिक रोजगारीका लागि दुबईमा छिन्।
शालिनको मामाघर चितवनको रत्ननगर नगरपालिका-१५ माधवपुरमा हो। उनको मामाघरमा हजुरबुवा र हजुरआमा मात्रै छन्।
पढ्नको सहजताका लागि शालिन दुई वर्षअघि उक्त विद्यालयमा पढ्दै आएकी थिइन्। होस्टेलसँगै जेठी हजुरआमाको घर थियो।