काठमाडौँ । छ किसान सङ्गठनले लघुवित्तपीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
२०८० फागु १६ गते बुधबारका दिन छ किसान सङ्गठनका नेताहरू पीडित आन्दोलनकारी बसेको स्थान काठमाडौँ गौशालाको भण्डारखाल परिसरमा पुगी ऐक्यबद्धता व्यक्त गरिएको हो ।
ऐक्यबद्धता व्यक्त गर्न अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का तर्फबाट चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घको तर्फबाट केबी घले, अखिल नेपाल किसान यूनियनको तर्फबाट लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान सङ्घको तर्फबाट दुर्गाप्रसाद जैसी र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तर्फबाट सीताराम तामाङ पीडितसमक्ष पुग्नुभएको थियो ।
अप्फाका केन्द्रीय सदस्य घलेका अनुसार फागुन १५ गते बसेको छ किसान सङ्गठनको बैठकले लघुवित्तपीडितको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार नेताहरू गौशाला पुग्नुभएको थियो ।
आन्दोलनकारीसँग भेटघाटसँगै करिब दुई घण्टा लघुवित्तपीडितको समस्याबारे छलफल भएको घलेले बताउनुभयो ।
‘छलफलमा आन्दोलनप्रति छ किसान सङ्गठनले ऐक्यबद्धता व्यक्त गर्नुका साथै उनीहरूको माग सुनुवाइ हुनुपर्ने तथा आन्दोलनको क्रममा पक्राउ परेका ४९ जना आन्दोलनकारीलाई यथाशीघ्र रिहाइ गर्न माग गरियो’ उहाँले भन्नुभयो– ‘सरकारले आन्दोलनकारीलाई भण्डारखाल कम्पाउन्डभित्र आवतजावत गर्न रोक लगाउन नहुने मागसमेत गरियो ।’
कार्यक्रममा सबै सङ्गठनका प्रतिनिधिहरूले धारणा राखनुभएको थियो ।