काठमाडौँ । प्रमाणप्रधान अपराध अनुसन्धानमा नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब सहयोगी सिद्ध भएको छ ।
डेटा विश्लेषण गरी प्राप्त नतिजालाई रिपोर्टिङ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि प्रभावकारी तुल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
प्रवक्ता ढकालका अनुसार स्थापनादेखि हालसम्म ल्याबले चार हजार पाँच सय ५३ ओटा मुद्दाका जम्मा २१ हजार चार सय १५ ओटा सबुत परीक्षण गरेको छ । अझै पाँच हजार एक सय १३ ओटा मुद्दाका २४ हजार चार सय २५ ओटा सबुत परीक्षणका लागि ल्याबमा दर्ता भएका छन् । उहाँले अहिले दर्ता भएकामध्ये पाँच सय ६० मुद्दाका तीन हजार १० सबुत परीक्षणका क्रममा रहेका बताउनुभयो ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा चार सय ४० ओटा मुद्दाका दुई हजार एक सय ६२ ओटा सबुत परीक्षण सम्पन्न भएका जनाइएको छ ।
प्रवक्ता ढकालले भन्नुभयो– ‘प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ । आजकल अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो ।’
नेपालमा अपराध अनुसन्धानका क्रममा सङ्कलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको छ ।
ल्याबका प्रमुख, प्रहरी उपरीक्षक श्यामकुमार मण्डलका अनुसार हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सामाजिक सञ्जाल, मल्टीमिडिया, मेमोरी, ड्रोन, जिपीएस र आइओटी डिभाइसलगायत फरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई प्रतिवेदन प्रदान गर्ने गरिएको छ ।
अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समिति, नेपाल प्रहरी, नेपाली सेना, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, वन कार्यालय फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् ।