चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको ‘घुमौँ भरतपुर’ अभियान अन्तर्गत महानगरपालिका वडा नं १८ शशिनगरस्थित सहरी क्लिनिक टोलमा एक कार्यक्रम आयोजना गरिएको छ ।
टोल विकास संस्था अन्तर्गत शहरी क्लिनिक महिला समूहले ‘घुमौँ भरतपुर २०२४’ लाई सफल पारौँ’ भन्ने नाराका साथ सो कार्यक्रम गरेको हो ।
सदाबहार सहकारी भवनको प्रांगणमा आयोजित कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष कृष्ण केसी आफ्नो टोलको सरसफाइ, शान्ति सुरक्षा, मेलमिलाप तथा विकासका लागि एकजुट हुन आह्वान गर्नुभयो ।
कार्यक्रममा महिला समितिका अध्यक्ष रोसनी तामाङ, लक्ष्मी अधिकारी, पूर्णकुमारी गुरुङ, महिला जनप्रतिनिधि डिलकुमारी गजमेरलगायतले भरतपुर भ्रमण वर्ष २०२४ भब्य रुपमा सफल पार्ने बारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
वडासचिव पूर्णकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मनिषा जैसीले गर्नुभएको थियो ।
कार्यक्रममा टोल विकासको काममा अहोरात्र खटिनुहुने महिला सदस्य निर्मला श्रेष्ठ र उमा न्यौपानेलाई सम्मान गरिएको थियो ।
