दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ ।
जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रमाइलो वातावरण एकाएक शोकमा
छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो वातावरण थियो । केटापक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो । आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो । दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो तर अन्तिममा आउँदै गरेको बोलेरो जिप अचानक दुर्घटनामा पर्यो ।
आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जिप दुर्घटना भयो । दुर्घटनापश्चात् विवाहको रमाइलो वातारण शोकमा बदलिएको छ ।
आँबुखैरेनी–६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘खुसीको क्षणलाई दुर्घटनाको दु:खद क्षणले नरमाइलो बनाएको छ । गाउँ शोकमा डुबेको छ ।’
गुरुङका अनुसार विवाहका लागि तीनओटा गाडी लगिएको थियो । त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो ।
उहाँले भन्नुभयो– ‘दुईओटा गाडी घर पुगिसकेको थियो । आफन्त चढेको बोलेरो जिप दुर्घटना भयो । घाइते पनि आफन्त नै हुन् ।’