काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले गगन र उनकी श्रीमती केशावती पुरीलाई झापाको दमक–१३ स्थित सरकारी जग्गा हडपेर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको हो । उनीहरूलाई सजाय निर्धारण गर्न अदालतले अर्को पेसीमा थप सुनुवाइ गर्नेछ।
पुरीसँग ३ करोड ३२ लाख वैध सम्पत्ति रहेको तर ७ करोड ३५ लाखभन्दा बढी रकमको कारोबार देखिएको अदालतको ठहर छ। ४ करोड ३ लाख रूपैयाँ अवैध देखिएकाले अदालतले उनलाई दोषी ठहर गरेको हो।
सम्पत्ति शुद्धीकरण विभागले २०७७ माघ २१ गते पुरी दम्पतीसहित ६ जनाविरूद्ध १२ करोड १३ लाख रूपैयाँबराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो।
गगनका आफन्त मनमाया पुरी र देवकुमार पुरीले सफाइ पाएका छन्।
पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। उनी एमालेका होमबहादुर थापाबाट पराजित भएका थिए।