शङ्करप्रसाद पोख्रेल, बुटवल ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोतसाधन तथा वित्त आयोगका राष्ट्रिय अध्यक्ष बालानन्द पौडलले लुम्बिनी प्रदेश प्रमुखको कार्यलयमा प्रतिवेदन बुझाएका छन् ।
२०८० माघ २२ गते प्राकृतिक स्रोतसाधन तथा वित्त आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रतिवेदन अंश ठिक भएता पनि हुबहु लागु गर्न कठिनाइ रहेको बताउनुभयो ।
त्यसका लागि प्रदेश संरचनालाई बलियो र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिंदै उहाँले प्रदेश बलियो बनाउन थप अधिकार प्रदेशलाई दिनुपर्ने, प्राकृतिक स्रोतसाधनमा समेत प्रदेशलाई महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रदेश प्रमुख शेरचनले केही व्यक्तिहरूको धारणा पञ्चायतकालीन भएको कारण प्रदेशले पूरा अधिकार पाउन नसकेको बताउनुभयो ।
आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रतिवेदन बुझाउँदै वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, आन्तरिक ऋण, मूल्य अभिवृद्धिकर तथा अन्त:शुल्क, सवारी साधनकरलगायतका बुँदामा नेपालको संविधानबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा कोष बाँडफाँड हुनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्नुभएको थियो ।
