काठमाडौँ । निर्वाचन आयोगले विभिन्न कारणले रिक्त २३ पदमा उपनिर्वाचन गर्नुपर्ने भएकाले तत्कालै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्नुपर्ने कानुनी प्रावधान रहेको स्मरण गराउँदै आयोगले यथाशीघ्र जिल्ला निर्वाचन आयोगमार्फत मतदाता नामावली दर्ता गर्न आह्वान गरेको हो ।
आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको हस्ताक्षरमा २०८० माघ २२ गते प्रेसविज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको छ । साथै आयोगले रिक्त २३ पदको विवरण पनि सार्वजनिक गरेको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ स्
“२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त भएको जानकारी प्राप्त भएबमोजिम उक्त पदमा कानुनबमोजिम उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको छ ।
उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको छ । मतदाता नामावली ऐन–२०७३ को दफा ४ ९२० बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आयोगले नियमित रूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत् मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ । साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएको छ ।
मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्थाबमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ तथापि विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतस् पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ ।
उल्लिखितबमोजिम मतदाता नामावलीमा आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्ने कार्यमा सरिक भई आफ्नो मताधिकार सुरक्षित गर्नुहुन आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।”
