थम्मन केसी ##
हावाको एक झोका
सुदूरबाट हुरहुर हुर हुर चलिरहेछ
मेरो आँगनको डिलको पल्लो छेउको
ससानो बामरी
अनि पारिजातको कलिला मुनाहरू
निष्ठुरी हावाको झोक्का
खेपिरहेको छ
दायाबाया दायाबाया
पश्चिमी हावाले हेपिँदै पेलिँदै मेरो
हो मेरो भूगोल
मेरो प्यारो आँगन
जीवनका धेरै हिउँद खेपेको
मेरा धेरै पुर्खाहरू
मेरो भूगोलको सीमारेखाको लागि
अनि मेरो सम्प्रभुसत्ता बचाउन
बलिदानी गरेको
रक्तमुच्छेल मेरो धर्तीभरि
बलिदानीका पाइलैपाइलाका डोबहरू
साम्राज्यवादका दलालले आज लुछिरहँदा
हाम्रो राष्ट्रभक्ति ज्युँदो लास जस्तै
अनायास बगरमा पल्टिरहँदा पनि
हेरिरहेछौँ
हेर्दाहेर्दै तिम्रो धर्ती तिम्रो नहँुदा
हेर्दाहेर्दै तिम्रो आँगनभरि
विषालु पश्चिमी हावाले
तिम्रो आँगनका फुलेका फुलहरू सुक्नेछन्
तिमी वीर पुर्खाको सन्तति हुने छैनौँ
तिम्रा वीरतापूर्ण इतिहास खोसिने छन्
त्यसैले पश्चिमी हावाको एक झोक्का
जसमा मिसिएको कङ्क्रिट र विषालु हावा उड्दै
साँच्चिकै त्यो फगत इतिहास मात्र हुने छ
एउटा हावाको झोकाको
स्मरण मात्र हुने छ
हावाको एक झोक्का
हावाको एक झोक्का
Advertisement
तपाईको प्रतिक्रिया