काठमाडौं । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।
कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । आगामी फागुन २१ गतेदेखि १९ राष्ट्रियसभा सदस्यको पद रिक्त हुँदैछ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ । निर्वाचन आयोगका अनुसार प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ छ।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ । हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् ।
गण्डकी प्रदेश
गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘गण्डकीमा दुई सय ३० जना मतदाता रहनुभएको छ ।’
अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकतर्फ गरी तीन सिटका लागि मतदान भइरहेको हो ।
चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सूचना अधिकारी न्यौपानले जानकारी दिए । सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।
महिलामा नेकपा (माओवादी केन्द्र)बाट पर्वतकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता÷अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार छन् । राप्रपाले अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ यसअघि निर्वाचित तीन सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकाले ती सिटमा निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी कूल दुई सय ३० मतदाता रहेका छन् । चुनावमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता छन् । जसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । बाइस प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा ९एकीकृत समाजवादी०को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।
बागमती प्रदेश
बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ ।
स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गर्नुभएको थियो । उक्त भवनमा मतदान केन्द्र ९क० मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।
उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उहाँले जानकारी दिनुभयो । आजै अपराह्न ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।
सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सुर्यप्रसाद सेढाईंले जानकारी दिए ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ । निर्वाचन अधिकृत पाण्डेका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने व्यबस्था गरिएको छ भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षगरि २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको छ ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच जना रहेको छ । यसमध्ये प्रदेशसभा सदस्यको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको छ ।
कोशी प्रदेश
कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान भाग लिइरहेका छन् । विराटनगरका मौसम चिसो भए पनि प्रदेशसभा सदस्य एवं प्रमुख एवं उपप्रमुखलाई लामबद्ध भएर मतदान गरिरहेका छन्।
मतदान कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी चम्पा कार्की र नेकपा एमालेबाटठ रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएकोछ । निर्वाचनमा प्रदेश सभाका ९३ र स्थानीय तहका प्रमुख–उपप्रमुख दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता छन् ।
सुदूरपश्चिम प्रदेश
तीन जना राष्ट्रियसभा सदस्य चयनका लागि सुदूरपश्चिममा मतदान जारी छ।
सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द उम्मेदवार छन्।
एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ।
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी र महेश महरा तथा नेकपा एमालेकी इन्दु कडरियाको पदावधि फागुनमा सकिँदै छ।
सुदूरपश्चिममा स्थानीय तहको ३ हजार ३४४ र प्रदेश सांसदको २ हजार ७५६ गरेर कूल ६ हजार १०० मतभार छ।
बझाङबाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको भने सडक दुर्घटनामा मृत्यु भएको थियो ।
कर्णाली
कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच राष्ट्रिय सभाका ३ सिटमा १–१ सिट लिने गरी भागबन्डा भएको छ। तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका विष्णु विक मैदानमा छन्।
महिलातर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार छन्।
यस्तै, नेकपा एमालेले गठबन्धनबीच प्रतिस्पर्धा गर्नका लागि तीन जना उम्मेदवार मैदानमा खडा गरेको छ। जसमा विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्ट उम्मेदवार छन्।
हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका हिक्मत विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन्।
सत्ता गठबन्धन मिलेर चुनावमा जान लागेकाले कर्णालीमा यसपटक एमाले शून्य हुने सम्भावना बढी छ।
कर्णालीमा नेपाली कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कुल मतभार १ हजार ९ सय ७६ छ। स्थानीय तहका प्रमुख९अध्यक्ष ६ सय ८ र उप-प्रमुख-उपाध्यक्षबाट ५ सय ३२ र प्रदेशसभामा ७ सय ९५ मतभार छ।
तर, स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित दुई जनप्रतिनिधिको निधन भइसकेको छ। जसमा दैलेखको महाबु गाउँपालिकामा निर्वाचित लक्षुमन गुरूङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको छ।
राष्ट्रिय सभाबाट कोको हुँदैछन् विदा ?
कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।
६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।
तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् । एमालेकै दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।
यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी)को कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।
नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)को कार्यकाल सकिँदै छ ।
यसैगरी जसपाकी प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ ।
बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन्।