मनोज भट्ट ##
आत्ममुग्धताको क्षेत्र धेरै नै विशाल छ । मैले ज्ञानको क्षेत्रमा मात्र यसको चर्चा गर्न खोजेको हुँ ।
आफूसँग भएको कुनै वस्तु, सिप, सीमित ज्ञान, सुन्दरताबाट आफै मुग्ध हुनुलाई आत्ममुग्धता भनिन्छ ।
सामाजिक सञ्जाललगायतका क्षेत्रमा कतिपय व्यक्तिले आफूलाई सबै क्षेत्रको ज्ञाताको रूपमा प्रस्तुत गरेर आफूसँग भएको सीमित ज्ञानमाथि मुग्ध भइरहेको देखिन्छ तर तिनीहरू आत्ममुग्ध हुने बेला ज्ञानको क्षेत्र धेरै विशाल छ भन्ने कुरा बिर्सिन्छन् ।
आफ्नो आत्मप्रशंसामा रमाउँछन तर विश्वका असाधारण प्रतिभाशाली व्यक्तित्व कार्ल माक्र्सको त मूलमन्त्र नै थियो– “गुरुलाई पनि शिक्षाको आवश्यकता पर्दछ ।” उहाँले ज्ञानको क्षेत्रमा जहिले पनि आफूलाई विद्यार्थीको रूपमा पेस गर्नुभयो ।
सन् १९७० मा चिनको लुसानमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा माओले “म स्वयम् हरेक दिन विद्यार्थी हुन्छु” भनेबाट पनि उहाँको महानता झल्किन्छ ।
महान वैज्ञानिक न्युन्टनले “हामीलाई जति कुराको ज्ञान छ, त्यो थोपा हो भने जुन कुराको ज्ञान छैन, त्यो समुद्र होे” भनेर ज्ञानको क्षेत्र विशाल रहेको बताएका छन् ।
महान् व्यक्तित्वहरूले आफूसँग भएको ज्ञानको कहिल्यै पनि स्वप्रशंसा गर्ने वा दम्भ देखाउनुभएन बरु आफ्नाबारेमा अरूले गरेको अतिशयोक्तिपूर्ण प्रशंसाको पनि दृढताूर्वक खण्डन गरेको पाइन्छ ।
रुसमा स्टालिनको प्रशंसा गर्दै एकताका प्रकाशनको बाढी नै आएको थियो तर स्टालिनले अतिशयोक्तिपूर्ण ढङ्गबाट आएका प्रशंसाको दृढतापूर्वक खण्डन गर्दै आफूलाई सामान्य मजदुरको रूपमा प्रस्तुत गर्नुहुन्थ्यो ।
लिन प्याओले माओलाई “महामानव” बताउनुका साथै माक्र्सवाद–लेनिनवादसम्बन्धी रचना अध्ययन गर्दा ९९ प्रतिशत कुराहरू अध्यक्ष माओकै पढनुपर्छ भन्थे तर माओले यी सबै कुराको खण्डन गर्नुभएको थियो ।
आफूलाई सर्वज्ञाता बताउने साथीहरूले यी कुराबाट केही मात्रामा भए पनि शिक्षा लिन सके राम्रो हुने थियो तर उहाँहरूलाई आत्ममुग्धता जस्तो गम्भीर मानसिक रोगले भेट्याएको छ ।