काठमाडौँ । काठमाडौँबाट चित्लाङ जाने क्रममा भएको कार दुर्घटना तथा बागलुङमा भएको जिप दुर्घटनाका मृतकप्रति राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० पुस २९ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै राजमोले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
वक्तव्यमा शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“काठमाडौँको लाजिम्पाटका डा. महेशकुमार गौतमका छोराछोरी तथा सासूससुरासमेत चढेको कार पुस २८ गते थानकोट चित्लाङतर्फ जाँदै गर्दा भएको दुर्घटनामा निधन भएको घटनाबाट हामी धेरै नै दुखित भएका छौँ । डा. महेशकी पत्नी सृष्टि त्यो दुर्घटनाबाट बच्नुभएको छ तर आफ्ना परिवारका सबै प्रियजनको मृत्युपछि बाँचे पनि उहाँले जुन असह्य पीडाको सामना गर्नुपरेको छ, त्यो सबै आमा, पत्नी र छोरीसमेतका लागि अत्यन्त दु:ख र पीडाको विषय हो । हामीले सबै मृत व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्दै डा. सृृष्टिप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
त्यस्तै, बागलुङको बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको जिप ढोरपाटन–५ अस्तुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । हामी उक्त घटनाका मृतकप्रति श्रद्धाञ्जली, मृतकका आफन्तप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।”