प्रकाश छन्त्याल, बागलुङबजार ।
बागलुङ बरेङ गाउँपालिकाको बाह्रौँ अधिवेशन तथा गाउँसभा सम्पन्न भएको छ ।
पालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा २०८० पुस २८ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार बिहान ११ बजेदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको सो अधिवेशनले चारओटा कार्यसूची सर्वसम्मतिले पारित गरेको छ ।
अधिवेशनमा बरेङ गाउँपालिकाको स्थानीय स्वास्थ सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक– २०८० गाउँपालिका विधायन समिति संयोजक तथा वडा नं.४ का वडाअध्यक्ष किसनबहादुर खत्रीद्वारा प्रस्तुत गरिएको थियो ।
त्यस्तै, योजना संशोधन सम्बन्धमा गाउँपालिका पूर्वाधार विकास संयोजक तथा वडा नं. १ वडाअध्यक्ष नरसेङ पुनद्वारा प्रस्तुत गरिएको थियो ।
एवम् प्रकारले गाउँपालिका मातहतका करार सेवाअन्तर्गत कार्यरत कर्मचारीको म्यादथपसम्बन्धी प्रस्ताव गाउँपालिका सुशासन तथा संस्थागत विकास समिति संयोजक तथा वडा नं. ३ का वडाअध्यक्ष शेरबहादुर खनालद्वारा प्रस्तुत गरिएको थियो ।
सोही प्रकारले गाउँपालिकाको प्रस्तावित स्थानीय लोगो अनुमोदन सामाजिक विकास समिति संयोजक तथा गाउँपालिका प्रवक्ता तुफान पुनद्वारा प्रस्तुत गरिएको थियो ।