काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाइएको भन्दै गौशाला २६ नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन् । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती गौशाला २६ ले पहिचान खुलाउनेविरुद्ध ब्युरोमा उजुरी दिएकी हुन् ।
आफ्नो तस्बिरसहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै कानुनी उपचारका लागि गौशाला २६ ब्युरोेमा आएको प्रहरीले जनाएको छ ।
उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नेहरूलाई कारबाही माग गरेकी छन् ।
गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दिएकी हुन्।
पीडित युवतीको उजुरी आएपछि उनको वास्तविक नाम र तस्बिर सार्वजनिक गर्नेहरूविरुद्ध अनुसन्धान अघि बढाइएको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले बताए।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको निर्णयअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै केही दिनयता सामाजिक सञ्जालमा तस्बिर हाल्ने क्रम बढेको छ।
ढकालको इजलासले सन्दीपलाई बलात्कारी ठहरसहित आठ वर्ष जेल सजायको फैसला सुनाएको छ। सन्दीपले ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति पनि भराउनुपर्ने भएको छ।
यसैबीच गौशाला २६ को तस्बिर र वास्तविक नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरेको छ।