काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने बहानामा ठगी आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुर च्यासल बस्ने वर्ष ४२ को विकास कुमार घले र संजय लामा रहेका छन्।
उनीहरूसमेतले टोकियो ओभरसिस दर्ता गरी उक्त ओभरसिसबाट विदेश पठाउने प्रलोभन दिने गरेका पाइएको छ।
सरिता घलान समेतलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्छ, सर्बिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।
पीडितहरुबाट पटकपटक गरी १३ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विकास र सञ्जयलाई पक्राउ गरेको हो।
विकासलाई पुस २३ गते महावौद्धबाट र सञ्जयलाई २२ गते सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ
यस्तै, वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका ५ घर भई हाल काठमाडौं तार्केश्वर–८ जरंखु बस्ने वर्ष ३० की पूजा श्रेष्ठ रहेकी छन्।
पूजाले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन्।
पीडितबाट पटकपटक गरी जम्मा २ लाख १५हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ परेकी पूजा श्रेष्ठमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।