काठमाडौं । चितवनमा करिब डेढ महिनाअघि बोरामा महिला र पुरुषको शव भेटिएको घटनाको रहश्य सुल्झिएको छ । मृतक दुवैजना भारतीय नागरिक रहेको र हत्या गर्ने व्यक्ति उनीहरुकै आफन्त भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।
गत मंसिर ६ गते चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक स्थित कल्भर्टमुनी बोरामा दुई जनको शव भेटिएको थियो । मृतक भारतको मोतिहारी फुलबारीया, सुगौलीका मुकेश कुमार कुशवाहाको छोरा १९ वर्षीय ऋषभ कुमार कुशवाहा र भारतकै बिहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणका अखिलेश भगतकी छोरी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
भतिज काकी नाता पर्ने ऋषभ र सन्जुको अवैध सम्बन्ध थाह पाएपछि सन्जुका श्रीमान ३३ वर्षीय अखिलेश भगतले उनीहरुको हत्या गरी शव लुकाएको खुलेको छ ।
अखिलेश हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा छन्। उनीसँग नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा मोतिहारी पुगेर बयान लिएको छ।
पुस ६ गते भरतपुरको मिलन चोकस्थित सडक कल्भर्टमुनी शंकास्पद रूपमा रहेको २ वटा जुटको बोरामा अन्दाजी २४÷२५ वर्ष उमेरको जस्तो देखिने पुरूष र अन्दाजी ३०÷३१ वर्ष उमेरको जस्तो देखिने महिलाको शव फेला परेको थियो।
मुखमा टेप लगाएको, घाँटीमा सल जस्तो रातो कपडाले कसेको, दुवै शवको दुवै हात र खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई बोरा भित्र राखेको अवस्थामा फेला परेको लाशको प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवन समेतको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, सुचना संकलन समेतको विश्लेषण गरी सफलतापूर्वक अनुसन्धान गरी निम्न तथ्य स्थापित गर्न सफल भएको जनाएको छ।
मिति २०८०/८/६ गते अन्दाजी १२ः५० बजेको समयमा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. १२ मिलन चोक स्थित सडक कल्भर्टमा दुई वटा बोरामा महिला र पुरूषको शव फेला परेको सम्बन्धमा मृतकहरुको सनाखत गरिएको थियो।
मृतकहरु नेपालमा तरकारी, फलफुल व्यापारको लागि पटक पटक आउने जाने गरेको र निजहरु अन्तिम पटक २०८० सालको दसैं पश्चात नेपाल आई चितवनको मिलनचोकस्थित मृतक पुरुषको काका नाता पर्नेको कोठा नजिकै कोठा लिई बस्दै आई रहेको थियो।
मृत्तक पुरुष (ऋषभ कुमार कुशवाहा) र मृतक महिला (अस्मिता भन्ने सन्जु देवी) को बीचमा रहेको सम्बन्धका कारण अस्मिता भन्ने सन्जु देवीको श्रीमान अखिलेश भगतले शंका गरी सो विषयलाई लिएर मृतकहरुसँग झै–झगडा गर्ने गरेको पाइएको छ।
अनुसन्धानको क्रममा मंसिर २ गते ऋषभ कुमार कुशवाहा र अस्मिता भन्ने सन्जु देवीलाई अखिलेश भगतले निजहरु बस्ने गरेको भाडाको कोठामानै कर्तव्य गरी दुवै लाशलाई २ वटा जुटको बोरामा बन्द (प्याक) गरी मंसिर ३ गते पौने १ बजेको समयमा र १ः१२ बजेको समयमा अखिलेश भगतले उक्त लाशहरुलाई २ पटक गरी साईकलमा राखि लाश फेला परेको कलभर्ट तर्फ लगेको सीसीटीभी फुटेजमा देखिएको थियो।
हत्यामा संलग्न ३३ वर्षीय अखिलेश भगत तत्काल फरार थिए।
घटना लगत्तै मंसिर १६ गते अखिलेश भगत कोही कसैलाई जानकारी नगराई भारततर्फ भागि गएकोले भारतीय प्रहरीसँग समन्वय गरि खोजतलास गर्दा उनीउपर भारतको प्रहरी थाना सुगौली बिहारमासमेत अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता रहेको थाह भएको थियो।
पुस १६ गते अखिलेशलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा राखेको छ। नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा उनलाई अनुसन्धान तथा सोधपुछ गरिएको थियो।
त्यसक्रममा निजले नेपालको चितवनमा भतिजा नाता पर्ने ऋषभ कुमार कुशवाहा र आफ्नो श्रीमती अस्मिता भन्ने सन्जु देवीलाई हत्या गरी आएको भन्ने स्वीकार गरेको प्रहरीले जनाएको छ।