काठमाडौँ । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार २०८० पुस २१ गते शनिबार काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री सेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ ।
शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस थियो । काठमाडौँमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ ।
‘तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जान सक्छ’ मौसमविद् अधिकारीले भन्नुभयो ।
आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्री सेल्सियस हुने पूर्वानुमान गरिएको छ ।
शनिबार बिहान काठमाडौँको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।
जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्री सेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।