मलङ्गवा । पुस २० गते शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा पुस २१ गते शनिबार पनि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी भएको छ ।
विरोध प्रदर्शनको क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी नदिएपछि सम्भावित विरोधको अवस्था मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञाको अवधि बढाएको हो ।
बरहथवा क्षेत्रको अवस्था समान्य नभएपछि स्थानीय प्रशासनले शनिबार पनि बिहान ८ देखि आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ ।
बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्को स्तरोन्नतिको माग गर्दै भएको विरोध प्रदर्शनमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो ।
दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकका नाममा ५० शैयाको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले निजको मृत्युको कारण आफूलाई थाहा नभएको तथा आफूले सुरक्षाकर्मीलाई गोली प्रहार गर्ने आदेश नदिएको बताउनुभयो ।
आन्दोलित पक्षले शवलाई घेरा हालेर बसेका कारण उठाउन नसकिएको उहाँले बताउनुभयो । घटना सम्बन्धमा छानबिन गर्न तथा शव उठाउने विषयमा सबै पक्षसँग संवाद जारी रहेको उहाँले बताउनुभयो ।
उक्त घटनालाई लिएर सदरमुकाम मलङ्गवा र कविलास नगरपालिकाको सलेमपुरमा पनि शनिबार बिहानैदेखि टायर बालेर विरोध प्रदर्शन भइरहेका छ ।
शुक्रबार आन्दोलनकारी र प्रहरीबिच झड्प हुँदा दुवैतर्फ केही घाइते भएका थिए । झड्पपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । शुक्रबार बेलुका ५:३० देखि शनिबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
बरहथवामा अहिले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हावामा गोली हान्नुका साथै र अश्रुग्यास प्रहार गरेको थियो ।
नगरप्रमुख कटुवालको निवासअगाडि पार्किङ गरी राखिएको एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेको थिए । (रासस)