काठमाडौं । ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन एवम् ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा जितगढी किल्ला पुनर्निर्माण गरि हस्तान्तरण गरिएको हो।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गरेका छन्।
ऐतिहासिक, पुरातात्त्विक एवम् सामरिक महत्त्वको जितगढी किल्ला बुटवल उपमहानगरपालिका-१ मा अवस्थित छ।
नेपाल-अङ्ग्रेज युद्ध (विसं १८७१/७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले साहस, रणकौशल र वीरताकासाथ युद्ध गरि जितेको ऐतिहासिक स्थल हो।
उक्त किल्ला क्षेत्रमा युद्धकला झल्किने संरचनाहरू थप गरिनुका साथै कर्णेल थापाकोसहित १३ जना योद्धाहरूको सालिक, युद्ध चित्रहरू, बगैँचा, जल फोहोरा, सुरक्षा पर्खाल, २.५ किलोमिटरको पैदल मार्ग, रेलिङ, पुल लगायत बनाइएको छ।



