काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन्।
Advertisement
बिहीबार बिहान सबा नौ बजे विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमै स्वागत गरे ।
जयशंकरले आजैदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्। उनले सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय भएको छ।
त्यसपछि मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने छन्।
आज दिउँसो होटल याक एन्ड यतीमा हुने ‘संयुक्त आयोगको बैठक’ मा उनी सहभागी हुनेछन्। जहाँ दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।