पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो ।
महेन्द्र भोटे नेकपा (एमाले) को भातृसंगठन युवा संघका केन्द्रीय उपमहासचिव हुन् ।
सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २५ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरुले मङ्गलबार अदालतमा आत्मसमर्पण गरेका थिए ।
सूर्यदर्शन सहकारी सम्बद्ध १९ जनाविरुद्ध रु एक अर्ब ११ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
पोखरामा गितेन्द्रबाबु ९जीबी० राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत् बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका जीबी राईसहित १५ जना अझै फरार छन्।
ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिवेदनले देखाएको छ।
सहकारीको रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नाम मुछिएको छ। लामिछानेले भने सहकारीको रकम आफूले नलिएको जिकिर गरिरहेका छन्।