विष्णु शर्मा ##
कसरी जान्छन् थाहा छैन जनताका दिन
सरकार र प्रशासनले गर्छ काम हीन ।
रोजगार माग्दाखेरि नाजवाफ छन् जैले
शान्तिसँग जनताले बाच्न पाउने कैले ?
न्याय माग्दा हात लाग्छ युवालाई गोली
माटामुनि पुर्नुपर्छ चढाउने बेला डोली ।
छिनभरमै सपना बन्छ जिम्मेवारी उनको
मसानघाटमा विलीन हुन्छ पूर्णिमा जुनको ।
होस गुम्छ बाबाआमाको बज्रपातले गर्दा
दुर्घटना भन्छ सरकार तातो गोलीले मर्दा ।
उजाडिन्छ बाबुआमाको बुढेसकालको सहारा
दु:ख, बिरामी पर्दा कोही छैन कठैबरा ।
रगतपसिना बगाएर हुर्काएको सन्तान
सम्झी सम्झी बाबाआमा रोएका झन् झन् ।
देशमा कतै देखिँदैन रोजगारको मेसो
कैल्यै भएन सरकारलाई यो कुराको चासो ।
राष्ट्रपति मन्त्रीलाई भत्ताको छ चाङ
जनताजति मरेका छन् नपाएर खान ।
रोजगार छैन देशमा हाहाकार जताततै
विदेश जान्छु भन्दा गोली खानुपर्छ कठै ।
राजालाई भन्दा बढी छ सेवा र सुविधा
जनतालाई लाउन खान सधैँ दुविधा ।
लोकतन्त्रमा विरोध गर्न नपाइने भयो
त्यसैले त दुई जना निर्दोषको ज्यान गयो ।
सबका भत्ता वेतनमा कटौती गर्नुपर्छ
त्यसबाट जनतालाई राहत भर्नुपर्छ ।
कि त सरकार अघि बढी रोजगार मिलाई
होइन भने सत्ताबाट लिनुपर्ला बिदाइ ।

