सन्धिखर्क । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको ढाकाबाङ र धारापानीका नागरिकले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम–२०८० लाई सफल पार्न हातेमालो गर्ने वचन दिएका छन् ।
भूमिकास्थान नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलसहित अन्य सरोकारवालाले आर्थिक सङ्कटबाट गुज्रिएको जिल्लालाई माथि उकास्न यो अभियानले टेवा दिने भन्दै त्यसमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आगामी माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन हुने उक्त कार्यक्रमको तयारीस्वरूप २०८० पुस १६ गते सोमबार पत्रकार महासङ्घले छुट्टाछुट्टै आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनिहरूले यस्तो प्रतिबद्धता गरेका थिए । भूमिकास्थान वडा नम्बर १ र २ को कार्यक्रम ढाकाबाङमा र वडा नम्बर ३ र ४ को कार्यक्रम धारापानीमा आयोजना गरिएको थियो ।
स्थलगत रिर्पोटिङपछि आयोजित अन्तरक्रियात्मक बैठकपछि भूमिकास्थान–१ ले सिउडेनी पर्यटकीय स्थललाई भ्रमण गर्नैपर्ने स्थलको रूपमा सूचीकरण गर्ने निर्णय गरेको वडाध्यक्ष गोपालप्रसाद खनालले जानकारी दिनुभयो ।
त्यस्तै, भूमिकास्थान–२ ले नगरपालिकाकै नामकरण गरिएको चर्चित मन्दिर भूमिकास्थान मन्दिरलाई भ्रमण गर्नैपर्ने स्थलको रूपमा सूचीकरण गर्ने निर्णय गरेको वडाध्यक्ष बुद्धिबहादुर थापाले बताउनुभयो ।
यता, भूमिकास्थान–३ ले गौरादेवी मन्दिर शिख्र, गौरादेविस्थान हुँदै हाडफोर पर्यटकीय स्थललाई भ्रमण गर्नैपर्ने स्थलको रूपमा सूचीकरण गर्ने निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद बन्जाडेले जानकारी दिनुभयो ।
त्यस्तै, भूमिकास्थान–४ ले सिउडेनी सिद्धबाबा मन्दिर पर्यटकीय स्थललाई भ्रमण गर्नैपर्ने स्थलको रूपमा सूचीकरण गर्ने निर्णय गरेको वडाध्यक्ष बाबुराम पन्थीको भनाइ छ ।
कार्यक्रममा पर्यटन प्रवद्र्धन अभियानका सचिवालय सदस्य गोपालप्रसाद भट्टराई, कार्यालय सदस्य जितेन्द्र खत्री, प्रथम प्रचार टिम सदस्य तथा अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम– २०८० का सहजकर्ता टेकराज भुसाल र प्रथम प्रचार टिम सदस्य अजय केसीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा अध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, आमा समूहका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधिलगायत स्थानीय अगुवाको उपस्थिति रहेको थियो ।
