काठमाडौँ । ललितपुरको बालकुमारीमा पुस १३ गते शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन् ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए ।
महानिरीक्षक कडायतले भन्नुभयो– ‘प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई छोडिएको छ र उनीहरूलाई मुद्दा नचलाउने निर्णय भएको छ ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरी भौतिक सम्पत्तिमा समेत तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी थुनामा राखेको थियो ।
उक्त प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।