काठमाडौँ । उच्च अदालत पाटनले कोरियाको पानिजहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकालाई उत्पादनमूलक कामदार छनोटको अर्को भाषा परीक्षामा सहभागी हुन दिन आदेश दिएको छ ।
न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले रिट निवेदक र उनीहरूसरहका समान प्रकृतिका इच्छुक व्यक्तिलाई आवेदनमा सहभागी गराउन २०८० पुस १३ गते शुक्रबार आदेश दिएको हो ।
अदालतले निवदेक र निवेदकसरहका समान प्रकृतिका इच्छुक व्यक्तिलाई २०८० मङ्सिर १९ को सूचनाबमोजिम पुस २ गतेबाट खुला भएको आवेदन फारम भर्न रोक नलगाउन र परीक्षा आवेदन फाराम भर्न दिन आन्तरिम आदेश दिएको हो ।
पानिजहाज निर्माण क्षेत्रका कामदारका लागि इपिएस कोरिया शाखाले साउनमा आवेदन लिएको थियो । ३५ हजार सात सय ८ जनाले निवेदन दिएकोमा तीन हजार ९८९ जनाले नाम निकालेका थिए ।
यता, मङ्सिर १९ गतेको सूचना बमोजिम उत्पादकमूलक कामका लागि पुस २ गतेदेखि आवेदन फारम खुलाएको थियो । सोही परीक्षामा पानिजहाज परीक्षाका अनुत्तिर्ण युवालाई सामेल नगराउने भनेपछि यस विरुद्ध तर्कबहादुर पलसहितका युवा उच्च अदालत पाटन गएका थिए । अदालतले निवेदन दिएका १८ जनालाई सो परीक्षामा सामेल हुन आदेश दिएको थियो ।
सोही १८ जनालाई परीक्षाका लागि इपिएस शाखामा बोलाइएकोमा अन्य युवासमेत आइपुगेपछि तनावको स्थिति उत्पन्न भएको थियो ।
यता, इपिएस नेपाल शाखाले भने कोरिया सरकारकै नियमअनुसार पानिजहाज निर्माण कम्पनीको भाषा परीक्षामा अनुत्तिर्णलाई सामेल नगरेको, पछि अदालतको आदेशपछि पुनः कोरिया सरकारसित सम्पर्क गरेर अर्को परीक्षामा सामेल गर्न बोलाएको दाबी गरेको छ ।
