काठमाडौं । कोशी प्रदेश र एपीएफ क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।
आइतबार भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
कोशीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ६९ रन बनाउन सक्यो।
मधेशका लागि साना प्रविनले बनाएको २७ रन नै सर्वाधिक रह्यो। आरती महतोले १८ रन थपिन्। मधेशका अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कोशीका लागि सबनम राइ र एलिसा खडियाले समान २ विकेट लिए। कप्तान रुविना क्षेत्री र संगिता राइले समान एक् विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो।
दोस्रो विकेटका लागि काजोल श्रेष्ठ र रुविनाले १ सय २ रनको शतकीय साझेदारी गरे। कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ५४ रनको पारी खेलिन्।
मधेशकी मिना महतोले २ विकेट लिईन्। पुजा महतो र सरस्वती चौधरीले समान एक विकेट लिए।
आजै उता माथिल्लो मुलपानी मैदानमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ९० रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
कोशीले दिएको १ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनमात्र बनायो।
लक्ष्मी चौधरीले बनाएको २८ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। एपिएफकी इन्दु बर्माले ३ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिईन्। बिनु बुढाले २ विकेट तथा रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान एक विकेट झारे।
त्यसअघि माथि:लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट को क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो। जारी प्रतियोगितामा कुनैपनि टोलीले बनाएको यो उच्च योगफल हो।
एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ७० रन बनाईन्। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। ममता चौधरीले ५९ रन थपिन्।
दोस्रो विकेटका लागि इन्दु र ममताले १ सय ४ रनको शतकीय साझेदारी गरे। लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एक विकेट झारे।
एपीएफ र कोशीको समान ६ अंक भएपनि नेट रनरेटमा अघि रहँदै एपीएफ शीर्ष र कोशी दोस्रो स्थानमा छन्। आठ टोली सहभागी प्रतियोगिताको राउण्ड रोविनपछि शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान पक्का गर्नेछन्।

