काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएपछि फेरि सूर्यदर्शन सहकारी संस्थाको चर्चा चुलिएको छ ।
शनिबार पोखराको अमरसिंंह चौरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा रविमाथि मकैको खोया प्रहार भएको हो । खोया प्रहार गरेको आरोपमा लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटका ३७ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यद्यपी घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले तथ्य सार्वजनिक नगरेसम्म घटनाको वास्तविकता थाह हुने छैन । तर त्यो घटनाले विवादित सूर्यदर्शन सहकारीको भने फेरि चर्चा चुलिएको हो ।
रविमाथि आक्रमण गर्ने सन्तोष रानाभाट रविको समेत नाम मुछिएको सूर्यदर्शन सहकारीपीडित भएको र आफ्नो पैसा फसेपछि आक्रोश व्यक्त गरेको कतिपय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सूर्यदर्शन त्यही सहकारी हो, जसमा यसअघि रवि नै हर्ताकर्ता रहेको ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेको प्रमाणित भइसकेको छ। गीतेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको यो सहकारीले गोर्खा मिडिया नेटवर्कमार्फत् टेलिभिजनमा लगानी गरेको थियो।
जीबी यतिबेला सहकारी घोटलामा परिसकेका छन् भने राजनीतिमा आउने घोषणासँगै रविले टेलिभिजन छाडेका थिए।
सो सहकारी सम्बन्धी प्रतिवेदनमा रवि लामिछानेको नाम पनि छ। यद्यपी आफूले ऋण नलिएको रविको दाबी छ ।
पीडितहरुले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले गएको असोज १६ गते सहकारीसम्बन्धी प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा सहकारी सञ्चालकहरुविरुद्ध जिल्ला अदालत कास्कीमा यतिबेला मुद्दा विचाराधीन छ ।
पार्टीको कार्यक्रमका लागि शुक्रबार पोखरा पुगेका रविले सूर्यदर्शन सहकारीका पीडितहरुसँग पनि भेटघाट गरेका थिए । सूर्यदर्शन सहकारी पीडित बचतकर्ताहरुले गठन गरेको संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार शुक्रबार बेलुकी भएको भेटका क्रममा उनीहरुले आफ्नो बचत रकम फिर्ताको लागि सहजीकरण गरिदिन माग गरेका थिए।
त्यसक्रममा उनीहरुले रविलाई ज्ञापनपत्र पनि बुझाएका थिए । समितिका संयोजक श्रेष्ठका अनुसर रास्वपालाई नै ज्ञापनपत्र बुझाएको यो तेस्रोपटक हो। पहिलोपटक पोखरामा रहेको पार्टी कार्यालयमा र दोस्रोपटक डा. तोसिमा कार्कीमार्फत पीडितले रविलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।

‘एउटै पार्टीलाई दुई ४ पटक बुझाउनुको अर्थ भनेको रविजीले जेबी राई र कुमार रम्तेलसँग सहकार्य गर्नुभएकोले हो’ संयोजक श्रेष्ठले भने ।
उनका अनुसार सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिमा १ हजार ३७ जना सामल छन् । खोया प्रहार गर्ने व्यक्ति भने पीडितको सूचीमा नरहेको श्रेष्ठले बताए।
सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परे पनि बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन्।
जीबीसहित सहकारीका सञ्चालकहरू बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेर बेपत्ता छन्। यो सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको महानगरको सहकारी शाखाले जनाएको छ।
सूर्यदर्शनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नै १ हजार ३६ जनाले उजुरी गरेका छन्।
सहकारीको पोखरा शाखामा १८ हजार ७०० बचतखाता हुँदा ती खातामा कुल १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ जम्मा भएको देखिएको छ। बचत रकमबाट ४३३ वटा कर्जा खातामार्फत १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ ऋण लगानी गरेको पाइएको महानगरको सहकारी शाखाले जनाएको छ।
बचतकर्ताको रकम अपचल गरेका जीबीसहितका संचालकहरु फरार भएपछि बचतकर्ताहरुले आफ्नो रकम फिर्ताको लागि प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहारिरहेका छन्। तर, समस्याको समाधान भएको छैन।
सो सहकारीविरुद्ध गएको असोज १८ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जसमा ठगी प्रकरणमा जोडिएका १९ जनालाई प्रतिवादी बनाइएको छ ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध मुद्दा दर्ता गरिएको छ । पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो ।
भदौको पहिलो सातादेखि नै सहकारीको सबै कारोबार ठप्प छ ।