काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी प्रतिभाको विवाहमा गरिएको तामझामप्रति कटाक्ष गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डकी नातिनी तथा भरतपुरकी मेयर रेनु दाहालकी छोरी प्रतिभाको मंसीर २९ गते गोकर्ण फरेस्ट रिसोर्टमा हजार जनाभन्दा बढीलाई निम्तो दिएर धुमधामका साथ विवाह भएको थियो ।
आफूलाई सर्वहाराका नेता भन्ने प्रधानमन्त्रीले तामझामका साथ नातिनीको विवाह भोज गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला माओवादी नेताले पनि सामाजिक सञ्जालमै व्यंग्य गरेका हुन्।
न्यौपानेले लेखेका छन्, ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन !’
माओवादी नेतृत्वको सरकारले गतवर्ष लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छविका ल्यारक्याल लामालाई नियुक्त गरेको थियो ।
यस्तै, रेनु दाहालकी छोरीको विवाह धार्मिक विधि पुर्याएर भड्किलो ढंगले गरिएको भन्दै न्यौपानेले व्यंग्य कसेका हुन् ।
लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्त गर्दा लामाबाट मोटो रकम लिएको चर्चा चलेको थियो भने प्रचण्ड परिवारभित्र भएको भड्किलो विवाहले माओवादी नेतृत्वले सत्तामा बसेर राज्यशक्तिको दोहन गरेको आरोपलाई बल पुगेको छ ।
- /li>