काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाणलाई अदालतले ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।
Advertisement
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले २०८० मङ्सिर २८ गते बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।
त्यस दिन न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए तर अर्का न्यायाधीश खरेलले उनको संलग्नता अरूसरह नै देखिएको भन्दै छाड्न अस्वीकार गरेपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको थियो ।
