काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दललाई यही मंसिर २४ देखि २९ गतेभित्र आयोगमा दल दर्ता गर्नुपर्नेछ।
आयोगद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौँमा निवेदन दिन यो सूचना गरिएको छ।’
राष्ट्रिय सभामा ६ वर्षे अवधि पूरा गरेका २० सिट आगामी फागुन २० देखि रिक्त हुँदैछन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सबैभन्दा बढी ८, कांग्रेस ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ र एक जना स्वतन्त्र र अर्का एक जना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल समाप्त हुँदैछ।