काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् ।
‘आगामी २१ दिन हामीले लक डाउन पालना नगर्ने हो भने हामी २१ वर्षले पछि पर्नेछौँ,’ मोदीले सम्बोधनमा भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’
सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’
स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने मोदीले बताए । स्वास्थ्यसम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले आजै १५ हजार करोड रुपैयाँ छुट्याएको पनि उनले बताएका छन् । एजेन्सी