मुगु । नेकपा (एमाले) मुगुको विवादबीच नयाँ नेतृत्व घोषणा गरिएको छ ।
नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै एमालेसम्बद्ध १० वटा भ्रातृ सङ्गठनले असन्तुष्टि जनाएका छन्।
यही मङ्सिर ९ गतेदेखि एमाले मुगुको जिल्ला अधिवेशन सुरु भए पनि सहमति हुन नसकेको भन्दै १४ गते राति अध्यक्षमण्डलले जिल्ला कमिटी घोषणा गरेको थियो।
जिल्लाभरबाट अधिवेशनका लागि ३७४ जना प्रतिनिधिहरु छनौट भएका थिए। ती मध्ये ६० प्रतिशत प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनप्रति विरोध जनाएका हुन्।
घोषित जिल्ला कमिटी अलोकतान्त्रिक भएको र जिल्ला प्रतिनिधिलाई सहमतिका लागि छलफल गर्न नबोलाइएको आरोप १० वटा भातृ संगठनको छ।
ती संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुमत जिल्ला प्रतिनिधिको समर्थन रहेका डम्बर रावललाई अध्यक्ष घोषणा गर्न र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर अध्यक्षमण्डलले घोषणा गरेको जिल्ला कमिटी खारेज गर्न नेकपा एमाले केन्द्रीय समितिसमक्ष माग गर्दछौँ।’
नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घ, नेपाल खेलकुद महासङ्घ, मानवअधिकार एलाइन्स, उत्पीडित जातीय मोर्चा, राष्ट्रिय युवासङ्घ नेपाल, अखिल नेपाल किसान सङ्घ, प्रेस चौतारी, नेपाल बुद्धिजीवी परिषद् र र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेका हुन्।
एमाले महासचिव शंखर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए।
मुगुको नयाँ नेतृत्वका लागि अध्यक्ष मण्डलले निर्वाचन गर्ने तयारी गरे पनि पार्टी केन्द्रको दवावको कारण निर्वाचन गर्न नसकिएको जनाएको छ।
अध्यक्ष पदका उम्मेदवार रहेका डम्बरबहादुर रावलले जिल्ला कमिटी घोषणा गर्ने अध्यक्ष मण्डल र निर्वाचन कमिटी नै अवैध रहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।