काठमाडौं । कान्तिपुर मिडिया गुप्र र नेपाल पत्रकार महासंघबीच चार बुँदे सहमति भएको छ ।
झण्डै दुई महिनाको आन्दोलनपछि महासंघ नेतृत्व र कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन पक्षबीच शुक्रबार चार बुँदे सम्झौता भएको महासंघले जनाएको छ ।
सहमतिमा महासंघका अध्यक्ष विपुल पोख्रेल र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट ग्रुप चिफ अफ स्टाफ शिशिर पछाईले हस्ताक्षर गरेका छन् ।
‘कान्तिपुर व्यवस्थापनले कानुनविपरीत गरेको पत्रकारहरुको निश्कासन, सरुवा र प्रष्टीकरण दुई पक्षको सम्झौताबाट सम्पूर्ण रुपमा फिर्ता भएको, कामलाई निरन्तरता दिन चाहने पत्रकारहरुलाई सहज काम गर्ने वातावरण निर्माण र स्वेच्छिक अवकाशमा जान चाहनेहरुलाई कानुनअनुसार पाउने सेवा सुविधालाई सुनिश्चित गरिएको छ ।
साथै, श्रमजीवी पत्रकारका सम्वन्धमा सबै किसिमका काम कारबाही प्रचलित कानुनबमोजिम मात्र गर्ने सम्झौता भएको छ ।
सम्झौतालाई महासंघले सकारात्मक रुपमा लिँदै अक्षरशः पालनामा जोड दिएको छ ।
सम्झौता कान्तिपुर मिडिया गुप्रको केन्द्रीय कार्यालय, प्रदेश र जिल्लामा कार्यरत कान्तिपुरकर्मीहरुमा समान रुपले लागू हुनेछ । सरकारले श्रमजीवी पत्रकारलाई तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सम्झौता गरिएको छ । रोकिएको तलब तत्काल उपलब्ध गराउने सहमति भएको छ ।
दुई पक्षबीच भएको सम्झौता कार्यान्वयनका लागि महासंघको श्रमजीवी हित प्रवर्धन समितिले सहजीकरण र निरन्तर अनुगमन गर्ने जनाएको छ । यो सम्झौतासँगै महासंघका घोषित संघर्षका कार्यक्रम स्थगन गरिएको छ ।