काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
बुधवार काठमाडौंमा आयोजित ‘गीतसंगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू मातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले भनिन्, ‘हाम्रा सरकारी सञ्चार माध्यामहरु, निकायहरु, अरु पनि क्षेत्रहरु छन् रेडियो नेपाललाई मात्रै मैले भनिरहेको छैन। हामी सबै कस्ता भयौ भने सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने जस्ता हामी भयौं।’
नेपाल सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पती भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताइन्। उनले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिइन्। मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याँई गर्न नहुने पनि पटकपटक दोहोर्याइन्।
मन्त्री शर्माले रेडियो नेपालसहितका निकायहरुलाई प्रभावकारी बनाउन कानून बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि बताइन्। त्यस अवसरमा उनले पुराना स्रष्टा र सर्जकहरुलाई रोयल्टी दिने कुरामा सरकार गम्भीर रहेको समेत बताइन्।