नेपाल पत्रकार महासंघले महासंघ कास्की शाखाका सदस्य एवं डनन्यूज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका–२१ का वडा अध्यक्ष दीपकप्रसाद सुवेदीले धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।
महासंघका अनुसार मंसिर २ गते शनिबार मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको समाचारको विषयमा बुझ्नका लागि टेलिफोनबाट कुराकानी गर्ने क्रममा पत्रकार अधिकारीलाई वडा अध्यक्ष सुवेदीले गालीगलौज गर्दै धम्क्याएका थिए भने उनकी श्रीमती मीनाकुमारी आचार्य सुवेदीसमेतले बलात्कारको आरोप लगाएर फसाइदिने धम्की दिएको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ ।
‘सार्वजनिक सरोकारका विषयलाई समाचार बनाउने क्रममा पत्रकारलाई कुनै पनि सार्वजनिक पदधारी व्यक्ति वा सार्वजनिक निकायबाट सहयोग हुनुपर्ने व्यवस्था कानुनले निर्दिष्ट गरेको छ’ महासंघले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘त्यसलाई बेवास्ता गर्दै वडा अध्यक्ष सुवेदी र उहाँकी श्रीमतीबाट भएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।’
महासंघले यो घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याएर पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।