काठमाडौं । सिस्नुपानी नेपालले २५ वर्षदेखि तिहारको अवसरमा गर्दै आएको देउसी कार्यक्रम यो वर्ष नगर्ने भएको छ। जाजरकोट भूकम्पपछिको असहज परिस्थितिलाई मध्येनजर गर्दै सिस्नु पानीले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको हो।
सिस्नु पानी नेपालका महासचिव टंकप्रसाद आचार्यद्वारा जारी विज्ञिप्तमा भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ। उक्त रकम पीडितको पुनर्स्थापनाका लागि प्रदान गरिने उल्लेख छ।
मंगलबार बसेको सिस्नुपानी नेपालको बैठकपछि विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप रु ५०,०००। (पचास हजार) उपलव्ध गराउने निर्णय गरेको जानकारी गराउँदै विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम यो वर्षका लागि स्थगित गरिएको व्यहोरा दु:खका साथ जानकारी गराउँछौं।’
‘दु:खको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत भएकाको परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।