काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, भूकम्पबाट जाजरकोटमा एक सय पाँच, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्पप्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचओटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ ।