काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, नि:शुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ ।
आयोगले भूकम्पप्रभावितलाई राहत एवम् खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले २०८० कात्तिक १८ गते शनिबार जारी गर्नुभएको प्रेसविज्ञप्तिमा भनिएको छ : “भूकम्पमा परी घाइते भएकाको उद्धार, नि:शुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजीमा जुध्न आयोग नेपाल सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।”
आयोगले गए रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ । साथै, भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आयोगले भूकम्प प्रभावित जिल्लामा आयोगले अनुगमनसमेत सुरु गरिसकेको छ ।
आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न शनिबार भूकम्प प्रभावितस्थलतर्फ प्रस्थान गरिसकेको छ । साथै आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।