काठमाडौँ । सरकारले झुटो विवरण पेश गरी वंशजको आधारमा नेपाली नागरिकता लिएका दुई जनाको नागरिकता रद्द गरेको छ ।
२०८० कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले निमा तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।
त्यस्तै, देवराज धमलाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्द गरी उनलाई पनि नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मिति २०८० मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू
सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल कात्तिक १६ गते राती १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
मिति २०८० मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने दसौँ सन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने ।
चीनको साङ्घाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृति दिने ।
कृषि पशुपन्छी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजनारआयोजनाको लागि २६१ राजपत्राङ्कित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन–२०७९ बमोजिम समिति गठन गर्ने ।
निमा तामाङको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने ।
देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मिति २०८० मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको ४—०—०—० रोपनी जग्गा ५ शैय्याको आधारभूत अस्पताल भवन गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने ।
उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिकामा रहेको २—१०—०—० बिगाह सरकारी जग्गा प्रशासकीय भवन निर्माणार्थ उदयपुरगढी गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने ।
युएईमा आयोजना हुने अठाह्रौँ एजुकेसन अफ द दुवै एयर सो २०२३ मा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने ।
सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा वडा नं. ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ४.२९०४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका १२४ ओटा रुख हटाउन स्वीकृति दिने ।
बडीकेदार गाउँपालिका डोटीको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माण गर्नका लागि राष्ट्रिय वनको १३।२ रोपनी जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित खम्बागाडे—पलौटे—विद्यापुर—गुट मायाताल सडकखण्डको स्तरोन्नतिको लागि राष्ट्रिय वन क्षेत्रको १४।५९ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका १,२९२ रुखह हटाउन स्वीकृति दिने ।
आगामी मिति २०८० कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने द बेल्ट एण्ड रोड कन्फ्रेन्स अन साइन्स एण्ड टेक्नोलोजी एक्सचेन्ज कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
नेपाल इन्जिनियरिङ्ग सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा विश्वबाबु पुडासैनीलाई बढुवा गरी नेपाल ट्रष्टको कार्यालयको सचिव पदमा पदस्थापन गर्ने ।
नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राधिका अर्याललाई बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।