काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने दोहोर्याउनु भएको छ ।
२०८० कात्तिक १४ गते मंगलवार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्नुभएको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको केसीले बताउनुभयो ।
महासचिग गुटेरेसले सम्बोधन गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राख्नुभयो ।
अध्यक्ष केसीले भन्नुभयो, ‘समय अनुकूल नेपालको अवस्थाको चित्रण गर्नुभएको छ । उहाँलाई धन्यवाद दिनुपर्छ । संयुक्त राष्ट्र संघ पनि यो शान्ति प्रक्रियालाई अल्झाएर राख्नुहुन्न । टुंग्याउनु पर्छ भन्ने पक्षमा छ । उहाँले यसलाई समाधान गर्नु पर्छ भन्नु भयो । समाधान गर्ने त जो दोषी हो, त्यसलाई कारबाही गर्ने हो । जो पीडित छ, उसलाई सहयोग गर्ने हो ।’
शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिनुभएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाई नगर्न राज्य पक्ष र तत्कालीन विद्रोही पक्षलाई आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यसरी यति लामो समयसम्म अल्झाएर राख्नुहुन्छ र । त्यसो हुनाले यो समस्या समाधान गर्नुपर्छ । हलो अड्काएर हुन्न, यसलाई सहज निकास दिनुपर्छ भन्ने हाम्रो भनाई हो । सो समस्या छिटो समाधान गर्नुपर्छ अल्झाएर राख्नु हुन्न । त्यसका लागि राज्य पक्ष र अर्को पक्ष जिम्मेवार हुनुपर्छ । पीडितलाई अझ पीडा दिनुहुन्न ।’
आफ्नो पार्टी पीडितलाई थप पीडा दिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने ढिलाई गर्नुहुन्न भन्ने पक्षमा रहेको उहाँको भनाई थियो ।