तानसेन । पाल्पा जिल्लामा फेरि दुईओटा दुर्घटना भएका छन् ।
२०८० कात्तिक ६ गते सोमबार बिहान र दिउँसो दुई फरक फरक स्थानमा सो दुर्घटना भएका हुन् ।
ती भएका दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ रानीवननजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
आर्यभन्ज्याङबाट रामपुर हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा परेका पाँचै जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोमबार दिउँसो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु१ज ४१६५ नम्बरको जिप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्डको लामडाँडामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकाको थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका–४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ ।
अन्य घाइतेको सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जिपमा १४ जनाले यात्रा गरिरहेका थिए ।
कात्तिक ५ गते आइतबार बेलुकी मात्रै पाल्पाको रानीमहलनजिकै जिप दुर्घटना हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको थियो ।